बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा ३ करोड रुपैयाँ संकलन, ७५ लाख खर्च

शुक्रबार, मंसिर १४, २०८१

नेपालगन्ज । बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा तीन करोड संकलन भएको छ । बाँके जिल्लाको राप्ती नदी किनारमा सिधनियाघाट बहुआयामिक वैकुण्ठधाम परियोजना निर्माणका लागि गत कार्तिक २२ देखि ३० गतेसम्म आयोजित महोत्सवमा ३ करोड ३ लाख १५ हजार ४ रुपैयाँ संकलन भएको मूल समारोह समिति कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । 

नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा आयब्यय विवरण सार्वजनिक गर्दै श्रेष्ठले १ करोड २७ लाख ७३ हजार १ सय १४ रुपैयाँ, क्युआरमार्फत २६ लाख ६३ हजार १ सय ७९, चेकमार्फत ८८ लाख ३४ हजार ६ सय ७४ र घोषणा गरिएको रकम ६० लाख ४४ हजार ४७ रुपैयाँ आम्दानी भएको बताउनुभयो । यस्तै १ कट्ठा २६ धुर जग्गा पनि प्राप्त भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डुडुवा-४ बाँकेमा १ कट्ठा तथा वडा नम्बर १८ का वडा अध्यक्ष दीपककुमार बर्माले नेपालगन्ज-१९ मा २६ धुर जग्गा दान गरेका छन्। श्रेष्ठले महोत्सव संचालनका दौरान ७५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । 

महोत्सव मूल समारोह समिति संयोजक डा। सुरेश कुमार कनोडियाले मानव जीवनको अन्तिम विश्रामस्थल सिधनियाघाट निर्माण सहयोगार्थ संचालित बैकुण्ठधाम आध्यात्मिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताए ।

कनोडियाले यो पुनित कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले यो कार्यलाई जसरी पनि टुंगोमा पुर्याउने दृढता व्यक्त गरे । महोत्सवमा कथा वाचन पण्डित दीनबन्धु पोखरेलले गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्