कपिलवस्तुबाट ९ लाख ३० हजार रुपैयाँ बढीको अवैध सामाग्री सशस्त्र प्रहरीको नियन्त्रणमा

शनिबार, मंसिर ८, २०८१

कपिलवस्तु । सशस्त्र प्रहरी बल कपिलवस्तुले एक हप्ताको  अवधिमा ठुलो परिमाणमा भारतबाट नेपाल भित्र्याइएको अवैध सामाग्री बरामद गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नं. २८ गण कपिलवस्तुका अनुसार शुकवार मात्रै भारतबाट अवैध रुपले भन्सार छली गरेर ल्याइदै गरेको अवस्थामा ३ लाख ६३ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो।

कपिलवस्तुस्थित सशस्त्र प्रहरी गणबाट डीएसपी भीमनिधि खनालको कमान्डमा गएको टोलीले भन्सार छलेर ल्याउँदै गरेको उक्त अवैध लत्ताकपडा तौलिहवा नजिकबाट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, मंसिर १ देखि ७ गतेसम्म सशस्त्र प्रहरी कपिलवस्तुले ९ लाख ३४ हजार ५७० हजार रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो। सशस्त्र प्रहरी कपिलवस्तुका अनुसार बरामद गरिएको अवैध सामाग्रीमा एउटा मोटरसाइकल सहित लत्ताकपडा, किराना सामाग्री , मोटरपार्टस, मल  लगायत अन्य रहेका छन् ।

 बरामद गरिएका ९ लाख ३४  हजार ५७० रुपैयाँ बराबरका सबै अवैध भन्सार छलीका सामाग्रीलाई आबश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं. २८ गणले जानकारी दिएको छ।

त्यस्तै गत फागुनदेखि कात्तिक  मसान्तसम्म सशस्त्र प्रहरीले कपिलवस्तुबाट ३ करोड ५० लाख ८८ हजार ६९६ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरी भन्सार कार्यालय बुझाइसकेको जनाएको छ। उक्त अवधिमा सशस्त्र प्रहरीले अवैध तस्करीमा ढुवानीका लागि प्रयोग भएका सवारीसाधन, लत्ताकपडा, मोटरपार्टस, इलेक्ट्रोनिक्स सामाग्री, मोबाइल, मोबाइल डिस्प्ले, चिनी लगायतका सामाग्री बरामद गरेको हो भने लाखौं रुपैयाँका अवैध कुखुरा तथा माछा-मासुलाई नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्