कैलालीमा दुई मिनेट भाषण गर्दै देउवाले भने- यहाँको समस्या मलाई थाहा छ

आइतबार, मंसिर २, २०८१
Honor 600 pro

धनगढी । सुदूरपश्चिम प्रदेश भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्वाधारसँगै शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताएका छन् ।

आज कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले भौतिक संरचनासँगै गुणस्तरीय शिक्षामा पनि जोड दिन आग्रह गरे । 

उनले भने, ‘शैक्षिक क्षेत्रमा धेरै पूर्वाधार निर्माण भएका छन्, अब गुणस्तरीयसँगै प्राविधिक शिक्षामा जोड दिनुपर्यो, मैले गर्ने सहयोग गर्न तयार छु ।’

दुई मिनेटमात्र सम्बोधन गरेका पूर्वप्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई शिक्षामा अगाडि बढाउनु पर्ने यसका लागि आफू तयार रहेको बताए  । उनले भने, ‘म यही ठाउँको मान्छे हुँ, यहाँका सबै समस्या थाहा छन्, मैले सक्ने सहयोग गर्ने छु ।’

सभापति देउवाले धेरै बोल्नु भन्दा पनि काम गरेर देखाउनु पर्ने भन्दै अब भाषण भन्दा काममा जोड दिन सबैलाई आग्रह गरे ।

क्याम्पस संचालक समितिका अध्यक्ष दिनेशराज जोशीले क्याम्पसको शुरुआत भएको अब धेरै काम बाँकी रहेकाले सहयोग गर्न देउवालाई आग्रह गरे । प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर, सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी लगायतले पनि देउवा सुदूरपश्चिमको अभिभावक भएकाले यहाँका समस्या उनकै पहलमा मात्र समाधान हुने बताए  । 

लगत्तै सभापति देउवाले धनगढी उपमहानगरपालिका १६ मा रहेको वेहेडावावा धार्मिक क्षेत्रमा पुगेर त्यहाँ पूजा तथा दर्शनसमेत गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्