पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालत लगिँदै, रुपन्देही प्रहरी पनि पक्राउ गर्ने प्रतिक्षामा

मंगलबार, कात्तिक २०, २०८१
honor mob  winter sales

पोखरा कास्की प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागेको छ।  सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा लगिन लागिएको हो।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई  अदालतमा म्याद थपका लागि लगिने भएको हो । उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको थियो । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन ।

उनको थप ७ दिन म्याद थप हुन सक्ने सम्भावना छ । उनलाई अदालत लैजाने समय यकिन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । 

शर्माका अनुसार रविसँगै सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी र लिला पछाइलाई पनि आज अदालत उपस्थित गराइँदैछ । सरकारी वकिलको कार्यालयले लामिछानेसँग बयान लिने काम सकिसकेको छ । बयान सकिए पनि अनुसन्धान भने जारी छ ।

सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । ४ गते ६ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसमेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको शर्माले जानकारी दिए । कार्तिक २२ गते सार्वजनिक बिदा परेकाले त्यसपछि नै रविलाई रुपन्देही पठाउने विषयमा छलफल भइरहेको शर्माको भनाइ छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

रुपन्देही प्रहरीले छविलालसँग भने यसअघि नै बयान लिइसकेको छ । छविको दशैँ र तिहार प्रहरी हिरासतमै बितेको थियो । उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई पनि कात्तिक ८ मा चौथोपटक सात दिनको म्याद थप भएको थियो।

यस्तै सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लिला पछाईलाई पनि अदालतले कार्तिक ८ गते बिहीबार सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्