ठूलो रकम अनुदान लिएकाहरुको फाइल खोल्दै छौँ : कृषिमन्त्री

मंगलबार, कात्तिक १३, २०८१
honor mob  winter sales

नेपालगन्ज । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । 

Honor x7 pad

नेपाल किसान महासंघ बाँकेद्वारा आज कोहलपुरमा आयोजित 'एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम' लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिए । उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलंक भएर निस्कने दृढता व्यक्त गरे । मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताए । 

उनले आफूले मन्त्रालय सम्हालेपछि दुध र उखुको बाँकी बक्यौता भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताए । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सरकारले तत्काल मलको कारखाना खोल्ने निर्णय गर्नुपर्नेमा जोड दिए । उनले पाउडर प्लान्ट स्थापना गर्न आग्रह समेत गरे । किसानहरुले समयमै मल तथा बीउविजनको व्यवस्था, सहुलियतदरमा कृषि ऋण उपलब्ध गराउन, सिंचाईको व्यवस्था, उत्पादनको बजारीकरण, युवा पलायन रोक्न, अनुदानको दुरुपयोग रोक्न, खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध ओसारपसार रोक्न मन्त्री अधिकारीसमक्ष माग गरेका छन् । 

कार्यक्रममा नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश रावल, नेपाल किसान महासंघ बाँकेका उपाध्यक्ष टेकबहादुर खड्काले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिव महेन्द्र मल्ल ठकुरीले गरेका थिए । त्यस अवसरमा नेपाल किसान महासंघका निवर्तमान अध्यक्ष भानुभक्त भट्टराईलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा किसानहरुले विज्ञहरुसंग अन्तरसम्वाद एवम् अन्तरक्रिया गरेका थिए । मन्त्री अधिकारीलाई कोहलपुर डेरी एसोसिएसनले विभिन्न माग राख्दै ज्ञापनपत्र पनि बुझाएको महासचिव सन्तोष पौडेलले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्