रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रबार, कात्तिक २, २०८१
Honor 600 pro

पोखरा । सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । 

लामिछानेलाई पक्राउ पुर्जी जारी गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी र डीएसपी अदालत गएका थिए । एक जनामात्र न्यायाधीश अदालतमा रहेका बेलामा न्यायाधीश शाहले पक्राउ गर्न अनुमति दिएका हुन् । 

पक्राउ पुर्जी अनुमतिका लागि कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया र डीएसपी बसन्तकुमार शर्माको टोली अदालत पुगेको थियो। 

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको सांसद सूर्य थापा संयोजक रहेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

उक्त प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

जोशी गत असोज ६ गते नै पक्राउ परेर अहिले थुनामा छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी कास्की लगिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्