वायुसेवा संघको अर्को झुट, महँगोमा टिकट बेचेर अधिकतम भाडा नलिने ढोङ

सोमबार, असोज १४, २०८१
honor mob  winter sales

काठमाडौँ । वायु सेवा सञ्चालक सङ्घले झुटमाथि झुट बोलेर सरकारसँग राहत लिन खोजिरहेको छ भने यात्रुलाई आहत पारिरहेको छ । आइतबार संघले १६ गतेसम्म टिकटको अधिकतम मूल्य नलिने बताएर झुट बोलेको थियो भने सोमबार फेरि सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने बताएको छ । संघले सरकारसँग परल मूल्यमा इन्धनसमेत मागेको छ ।

Honor x7 pad

सङ्घको आज बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक नियमित नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो । तर एयरलाइन्सहरुले अहिले टिकटको न्यूनतम मूल्य नै बढाइसकेका छन् । 

अर्कातर्फ टिकट पाउने सम्भावना अब कम हुँदै गएको छ । अधिकांश दिनका टिकटहरु बुकिङ भइसकेका छन् । चाडबाड आएका कारण महँगोमै टिकट किनेर यात्रु बाहिरिन बाध्य भएका छन् । 

 तर संघले जारी गरेको विज्ञप्तिसँग भने उसले गरेको व्यवहारसँग मेल खाँदैन ।  ‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै सङ्घले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ’ सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हवाई भाडा महँगो भएको नागरिकस्तरबाट गुनासो आएपछि सङ्घको आइतबारको बैठकले सोमबार, मङ्गलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय गरेको थियो । तर ती दिनका टिकट बाँकी नै नभएको र आफूहरुले महँगोमा टिकट किन्नु परेको पीडितहरुको गुनासो छ । उनीहरुले एयरलाइन्सहरुले न्यूनतम मूल्य नै बढाएको गुनासो गरे ।

अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरेका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध हुदाँ हवाइ उडानमा यात्रुको चाप बढेको छ ।

आइतबार र सोमबार उडान चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। उडान संख्या पनि निकै बढाइएको छ । हाम्राकुरा।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्