कांग्रेसलाई चलाएमान बनाउन युवा पुस्तालाई नेतृत्वमा ल्याउन जरुरी छ: शशांक कोइराला

बिहीबार, असोज १०, २०८१
honor mob  winter sales

घोराही । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले भाषणमा मात्रै युवाका कुरा गरेर नहुने भन्दै व्यवहारमा पनि युवाको प्रतिनिधित्व पार्टीमा हुनुपर्ने बताएका छन् ।

Honor x7 pad

नेपाली कांग्रेस दाङले आज घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमहामन्त्री कोइरालाले कांग्रेसलाई संगठित, सशक्त र चलाएमान बनाउन युवा पुस्तालाई नेतृत्वमा ल्याउन जरुरी रहेको बताएका हुन ।

४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नरहेको भन्दै उनले पार्टीमा युवा आर्कषण बढाउन पार्टीको विधान संशोधन गरेर भएपनि युवालाई स्थान दिनुपर्ने बताए ।

नेता कोइरालाले पार्टीले नेतृत्व तहमा मात्रै नभइ सरकारमा पनि युवा प्रतिनिधित्व बढाउनका लागि ध्यान ध्यानदिन जरुरी रहेको औंल्याएका हुन ।

त्यस्तै पार्टीका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दललगायतलाई क्रियाशिल बनाउँदै समयमै निर्वाचन हुने वातावरण बनाउन जोड दिए । युवा उत्पादन हुने संगठनहरु नै निष्कृय बन्दा काँग्रेस थप कमजोर बन्न सक्ने चिन्ता उनको थियो ।

पार्टीका प्रमुख भातृ संगठनहरुमै बर्षौंदेखि महाधिवेशन नहुँदा ती संगठन सक्रिय रुपमा क्रियाशिल नरहेको भन्दै नेता कोइरालाले युवाहरु नेतृत्वमा आउनका लागि ठाउँ समेत नभएकाले भातृ संघसंगठनहरुको समयमै निर्वाचन गराउन पार्टी नेतृत्वले ध्यानदिनु पर्ने बताएका थिए ।

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा अव नेतृत्व हस्तान्तरण गर्ने सोचमा पुगेको भन्दै १५औँ महाधिवेशनबाट कांग्रेसमा सशक्त र सक्षम नेतृत्व ल्याउन नेता तथा कार्यकर्ता लाग्नुपर्ने जोड दिए । व्यक्तिभन्दा पनि पार्टीलाई नेतृत्व गर्न सक्ने नेतृत्व चयनमा ध्यानदिन जरुरी रहेको भन्दै उनले त्यसका लागि काँगेस नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुनुपर्ने बताएका थिए ।

देशको समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नरहेको भन्दै नेता कोइरालाले भविश्यमा कांग्रेसलाई थप सशक्त र संगठित तथा ठूलो पार्टी बनाउन नेता तथा कार्यकर्ताहरुमा एकता आवश्यक रहेको चर्चा गरेका थिए ।
संधै गुटहरु हाबी हुँदा पार्टीमा कमजोर बन्ने तर्क गरेका उनले पार्टी भित्र महाधिवेशनका क्रममा भएका गुटहरु महाधिवेशन सकिएसँगै सकिनुपर्ने धारणा राखेका थिए।

फरक प्रशंगामा उनले अहिलेको सत्ता गठवन्धन बाध्यात्मक परिस्थितिको उपज भएको बताए ।
मुलुकमा राजनीतिक स्थायित्वका लागि वर्तमान सत्ता गठबन्धन बनेको बताएका नेता कोइरालाले मुलुक सधै अस्थिरताको भुमरीमा फसिरहने परिस्थिति देखा परेपछि त्यसबाट बचाएर देश र जनताको समृद्धिका लागि काम गर्ने गरि कांग्रेस–एमालेको गठवन्धन बनेको हुँदा भन्दै अहिलेको गठबन्धनबाट कोही पनि पछि हट्न नसक्ने बताएका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति गिरिराज सुवेदीले स्वागत मनतब्य राखेका थिए भने सचिव बालिका लम्सालले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्