मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन: प्रचण्ड सचिवालय

बुधबार, असोज ९, २०८१
Honor 600 pro

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । 

अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् । 

‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्