कुहिएर गइरहेको काठ व्यवस्थापन कार्यलाई छिट्टै कार्यान्वयन गर्छौं : मन्त्री कुर्मी

बुधबार, साउन ३०, २०८१
honor mob  winter sales

नेपालगञ्ज । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले कुहिएर गइरहेको काठ व्यवस्थापन कार्यलाई मन्त्रालयले छिट्टै कार्यान्वयन गर्ने बताएका छन् । आज मन्त्री कुर्मीले देउखुरीस्थित मन्त्रालयमा वन क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्ने क्रममा सो कुरा बताएका हुन् ।

Honor x7 pad

गत साउन १८ गते वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएपछि कुर्मीले घाटगद्दी व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेका थिए । लुम्बिनी प्रदेशमा वन व्यवस्थापनलाई चुस्त बनाउँदै देशको आर्थिक समृद्धिसँग वनलाई जोडेर काम गर्ने उनले बताए । मन्त्री कुर्मीले भने, ‘कुहिएर गएको काठलाई हामीले सही तरिकाले व्यवस्थापन गर्नुपर्नेछ । काठ बिक्री वितरण गर्ने ठेक्का प्रणालीलाई सुधार गरेपछि काठहरु खेर जाने छैनन् । यसका लागि घाटगद्दीको संरचनामा सुधार गर्ने योजना छिट्टै कार्यान्वयन हुनेछ ।’

यसैगरी आज सामुदायिक वन उपभोक्ता महासंघ नेपालको टिमसँग भेटघाट गर्ने क्रममा मन्त्री कुर्मीले सामुदायिक वन क्षेत्रमा रहेका समस्याहरु समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको नेतृत्वमा गएको टिमले वन क्षेत्रका नीति, कानुन र कार्यक्रममा सुधार गर्नुपर्ने विषयहरुका बारेमा मन्त्रीलाई सुझाव दिएको थियो । टोलीले लुम्बिनी प्रदेशको आर्थिक ऐन २०८१ मा सामुदायिक वनमा कर लगाउने निर्णय खारेज गरिनुपर्ने, वन ऐनमा सुधार तथा संशोधन गरिनुपर्ने, सामुदायिक वन व्यवस्थापनमा सहयोग गर्नुपर्ने लगायतका बारेमा मन्त्री कुर्मीलाई अवगत गराएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव डिल्ली गिरीले एक सामुदायिक वन एक उद्यमको नारालाई प्राथमिकता दिन आग्रह गरे । उनले भने, ‘नेपालको सामुदायिक वन विश्वकै नमुना बनेको छ । यसको व्यवस्थापनमा प्रदेश सरकारले विशेषरुपमा ध्यान दिन जरुरी छ । हाम्रो प्रदेशमा भएका काठहरु कुहिएर जान्छन, हामी काठ अन्य ठाउँबाट आयात गर्छौं।

प्रदेशको काठ प्रदेशकै उद्योगमा खपत गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’ प्रदेशमा रहेका काठ उद्योगलाई सक्रिय बनाएर आर्थिक विकाससँग जोड्नुपर्ने सचिव गिरीले सुझाव दिएका थिए । भेटघाटका क्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष महमदकर खाँ, पूर्व उपाध्यक्ष भिम प्रसाद खड्का, लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराई, सदस्य अमृता नेपाल, कपिलवस्तु जिल्ला अध्यक्ष जयलाल गिरी, बाँके अध्यक्ष साबित्रा पुन लगायतले वन क्षेत्रको विकास र समस्याका बारेमा आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्