सरकार असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन: प्रधानमन्त्री

मंगलबार, साउन १५, २०८१
honor mob  winter sales

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् । 

Honor x7 pad

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई  निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए ।

प्रधानमन्त्रीले भने, 'यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैं मुख्य भूमिकामा छन् । त्यस कारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।'

उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने 'असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन। हामीले सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गरौँ भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।'

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एक दिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए ।

'त्यस कारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,' प्रधानमन्त्री ओलीले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले  काम गर्न निर्देशन दिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्