दोधारा-चाँदनीका स्थानीयलाई बर्षातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

शनिबार, असार २३, २०८०
honor mob  winter sales

महेन्द्रनगर। महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ। महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो।

Honor x7 pad

पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ।

दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन। विसं.२०२२ देखि दोधारा चाँदनीमा बसोबास गर्दै आएका राजबहादुर थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताए।

‘दोधारा चाँदनी अन्न उत्पादनका लागि उर्वर भूमि मानीन्छ तर यहाँ सिँचाइ सुविधा छैन”, उहाँले भन्नुभयो, “नेताहरु चुनावमा मात्रै हामी गर्छौँ भन्नुहुन्छ त्यसपछि वास्ता गर्नुहुन्न,’ यहाँ सिँचाइ सुविधा उपलब्ध भए अन्न बालीसँगै बेमौसमी तरकारी फलाउन सकिने उनले बताए।

विसं. २०२४ देखि कुतियाकवरमा बस्दै आएका मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति पुर्याउने गरेको बताए। ‘तीनतिर जोगबुडा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ,’ सुनारले भने, ‘यहाँ डुबान र कटान धेरै हुन्छ बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइसरी गइसके।‘

गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले दुखेसो पोखे।

४९ परिवारको बसोबास रहेको यो बस्तीमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन् । स्थानीय वसन्ती साउदले दोधारा चाँदनीमा उत्पादन धेरै हुने भए पनि सिँचाइ अभाव रहेको बताए।

‘हिउँदमा सिँचाइ अभाव हुन्छ बर्सातमा बाढीको त्रास,’ उनले भने, ‘बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ। दोधारा चाँदनीमा बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ । बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपर्ने स्थानीय टेकबहादुर सुनारले बताए।

‘हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ,’ सुनारले भने, ‘बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउन चिन्ता।‘रासस।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्