बेरुजु शीघ्र फर्छ्यौट गर्न लेखा समितिले दियो महालेखापरीक्षक कार्यालयलाई निर्देशन

बिहीबार, जेठ १७, २०८१
Honor 600 pro

काठमाडौं । महालेखापरीक्षक कार्यालयलाई बेरुजु बढेपछि सार्वजनिक लेखा समितिले बेरुजुलाई शीघ्र फर्छ्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन उत्तरदायित्वको सुनिश्चित गर्ने गरी रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल समितिमा पेश गर्न निर्देशन दिएको छ । आज बसेको सार्वजनिक लेखा समिति बैठकले महालेखापरीक्षक कार्यालयलाई सो निर्देशन दिएको हो । 

समितिका सभापति ऋषिकेश पोखरेलले महालेखापरीक्षकको कार्यालयलाई हरेक वर्ष बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै वित्तीय अराजकताको सन्देश प्रवाह भएको भन्दै यस्तो निर्देशन दिए । उनले आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ३७ मा प्रारम्भिक लेखापरीक्षणको प्रतिवेदनमा औँल्याएका बेरुजुका सम्बन्धमा बेरुजुको सूचना प्राप्त भएको ३५ दिनभित्र र उक्त अवधिभित्र फर्छ्यौट तथा संपरीक्षण गराउन नसक्ने मनासिब माफिकको कारण भए एक महिनासम्म म्याद थप गर्न सक्ने प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए । 

उनले लेखा परीक्षणको वार्षिक प्रतिवेदनलाई जोखिममा आधारित,कार्यमूलक लेखापरीक्षण,वातावरणीय लेखापरीक्षण,सूचना प्रविधि र लैगिङ्क लेखापरीक्षण लगायतका नवीनतम अन्तर्राष्ट्रिय लेखापरीक्षणका विधि तथा पद्धतिका आधारमा समेत थप गरी प्रभावकारी बनाउन आग्रह गरे । उनले सैद्धान्तिक बेरुजु,असुल उपर गर्नुपर्ने,बेरुजु र पेस्की बेरुजुलाई मन्त्रालयगत रूपमा छुट्टाछुट्टै उल्लेख गरी आगामी वार्षिक प्रतिवेदन तयार गरी समितिमा बुझाउन निर्देशन दिए । उनले महालेखापरीक्षकको कार्यालयबाट बेरुजु वा कैफियतहरू उठाउँदा कुन कानूनको कुन दफा नियम वा निर्देशिकाको प्रावधान अनुसार बेरुजु हुन गएको र बेरुजु फर्छ्यौट गर्नको लागि पेश गर्नुपर्ने प्रमाण,कागजात वा स्वीकृति गर्ने पदाधिकारीको स्पष्ट विवरण प्रतिवेदनमा समावेश गर्न निर्देशन दिए । 

उनले एउटै विषयमा लेखापरीक्षण पदाधिकारी कसैले बेरुजु उठाउने कसैले नउठाउने प्रवृत्ति अन्त्य गर्न र बेरुजु उठाउने कार्यमा एकरूपता कायम गर्न गराउन आगामी दिनमा लेखापरीक्षण मापदण्डलाई अनिवार्य पालना गरी मनोगत आधारमा बेरुजु उठाउने कार्यमा नियन्त्रण गर्न,संविधान र प्रचलित कानून बमोजिम औचित्यको आधारमा उठाउने बेरुजुहरू वस्तुगत आधारमा मात्र उठाउने प्रणाली स्थापित गर्न निर्देशन दिए । उनले कार्यकुशलता वा प्रभावकारिताको आधारमा परीक्षण गर्दा सूचकहरूको प्रयोगको आधारहरू स्पष्ट गरेर मात्रै उल्लेख गर्न निर्देशन दिए ।

समितिले निश्चित बजेट भएको कार्यालयको लागि बेरुजु उठाउँदा सो बजेट भन्दा बढी नहुने गरी जुन कार्यको लागि बजेट खर्च गरिएको हो सो कुरा स्पष्ट गरेर मात्रै राख्न निर्देशन दिएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्