गिरीबन्धु टी-स्टेटका मजदुरले पाएनन् महिनौंदेखि पारिश्रमिक, प्रशासनसमक्ष गुहार

बुधबार, जेठ २, २०८१
honor mob  winter sales

झापा । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् ।

Honor x7 pad

बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ । मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, विर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरुले गुहारेका हुन् । 

मजदुरहरुले सोमबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई ज्ञापन पत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चिया मजदुरले पारिश्रमिक नपाएको बताए । 

“महिनौंदेखि पारिश्रमिक नपाउँदा मजदूरहरुको बिचल्ली भएको छ”, उनले भने, “व्यवसायीहरुले खाद्यान्न समेत उधारो दिन छाडेका छन् ।”

कार्यरत मजदूरहरु बगानको कच्ची आवासगृहमा बस्दै आएका छन् । अतिरिक्त आयस्रोत नभएका कारण मजदूरहरु भोकमरीमा परेको विषयलाई सरकारले गम्भीर रुपमा लिन पर्ने मजदूर अगुवा नारायण दर्जीको धारणा छ ।

व्यवस्थापनले यसअघि पाक्षिक रुपमा मजदूरको पारिश्रमिक दिँदै आएको थियो । भुक्तानी रोकिए पनि मजदूरहरु नियमित कामकाजमा खटिइरहेको उनले जानकारी दिए । पारिश्रमिक माग्न जाँदा व्यवस्थापन पक्षले वेवास्ता गर्दै आएको उनको गुनासो छ । 

“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राई भन्छन्, “उनीहरु पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउनुहुन्छ ।”

मजदूरहरुले जिल्ला प्रशासन कार्यालय झापा र श्रम कार्यालय भद्रपुरमा पारिश्रमिक दिलाउन पहल गरिदिन ज्ञापन पत्र बुझाइसकेका छन् । पाश्रिमिक नपाए आन्दोलनमा उत्रिन बाध्य हुने मजदूरहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

गिरीबन्धु टि–स्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक सङ्कटका कारण मजदूरहरुलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताए । बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केही ननिस्किएको उनको भनाइ छ ।

श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिक नपाएको गुनासो लिएर मजदूरहरु कार्यालयमा आएपछि गिरीबन्धु टी–स्टेट प्रालिलाई पत्राचार गरिएको बताए । 

“मजदूरहरु आउनुभएको थियो”, उनले भने, “पारिश्रमिक दिनु भनेर हामीले व्यवस्थापन पक्षलाई लिखित आग्रह गरिसकेका छौं ।” रासस।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्