दरबारमार्गमा गाडीमा ९८ लाख रुपैयाँ लिएर जाँदै गर्दा पक्राउ परेका थिए रुपन्देहीका दुई युवक

शुक्रबार, वैशाख २८, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट श्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका दुई जनालाई आज दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालय सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने, “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु  पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।”

प्रहरीले उनीहरुको साथबाट नगद रु ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसमेत बरामद गरेको जानकारी दिइयो । 

पक्राउ परेका २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताए । 

पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । 

पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसूरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्