Dashain Banner
Dashain Banner

देशमा ठुलो सुरक्षा चुनौती नभएको प्रधान सेनापतिको दाबी

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले देशमा ठुलो सुरक्षा चुनौती नरहेको दाबी गरेका छन् । सेनापति शर्माले आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका हुन् । 

Dashai add

संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै पनि चुनौती नरहेको उनले स्पष्ट पारेका छन् । 

सेनापति शर्माले  कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरू हुने गरे पनि ती समस्याहरूलाई स्थानीय स्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका बताए । उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए ।

साथै उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरू बेलाबेलामा आन्दोलित हुने गरे पनि राष्ट्रिय समस्याको रूपमा नरहेको स्पष्ट पारे । त्यस्तै दुर्गा प्रसाईँ नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपुर्‍याएको उनको भनाई छ ।

 सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए । उनले भारत र चीनबिच दक्षिण एसियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए । त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यानमारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरू निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाई छ ।

सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरू भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताए । यद्यपि उनीहरूले नचाहिँदो कुरा गरेमा त्यसको विरोध गर्नुपर्ने उनको भनाई छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताए । देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ । 

उनले भने – ‘राष्ट्रिय सुरक्षाको सवाल उठ्दा खेरी हामीले दुई वटा देश आफ्नो छिमेकीहरूलाई कहिल्यै पनि चिढ्याउनु हुँदैन । र उनीहरूले नचाहिँदो कुरा गरे भने विरोध पनि गर्नुपर्छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि इन्ट्रेस्ट छ । उनीहरूसँग पनि ब्यालेन्स गर्नुपर्छ । चीन, भारत, युरोपियन युनियन र अमेरिकाले जे भन्यो त्यो गर्ने होइन कि हामीले यी छिमेकीलाई चिढ्याउनु हुँदैन । यिसित मिलेर सकेसम्म फाइदा लिने हो । वार्ता गरेर, कुरा गरेर देशको हितका लागि फाइदा लिने हो । त्यो रूपमा लागेका छौँ । चाहे अमेरिकनसँग कुरा गर्नुपरोस् । सैन्य सहयोग लिनुपर्‍यो । अभ्यास गर्नुपर्‍यो । चीन, भारतसँग गर्नुपर्‍यो भने पनि एकले अर्काको चित्त दुखाउने काममा गर्नु हुँदैन । हामी सजग लिएर काम गरेका छौँ । सबैको सहयोग चाहिन्छ हामीलाई । त्यो सन्तुलन गर्ने काममा हामी अति नै संवेदनशील भएर लागेका छौँ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्