करेलाले बजार नपाएपछि खरबुजाको खेती, अहिले बारीबाटै हुन्छ खरबुजा बिक्री

शुक्रबार, वैशाख २१, २०८१
honor mob  winter sales

कावासोती। नवलपुर(बर्दघाट-सुस्तापूर्व)को कावासोती–१७ का मीनबहादुर महतोले तरकारी खेती गर्न थालेको ६ वर्ष भयो।

Honor x7 pad

वैदेशिक रोजगारीको शिलशिलामा कतार र सिंगापुर पुगे। दुई देशमा गरी सात वर्ष काम गरेर उनी ६ वर्षअघि नेपाल फर्किएर व्यवसायिक कृषिमा लागेका थिए।

तरकारी खेतीका लागि उनले तीन बिघा जग्गा भाडामा लिएका छन्। ती जग्गामा अघिल्लो वर्षसम्म तरकारी खेती गरेका उनले यसपालि खरबुजा फलाएका छन्।

तरकारीले बजार नपाएपछि उनी खरबुजा खेतीतर्फ मोडिएका रहेछन्। उनी कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत हुन्।

‘पहिला तरकारी लगाउँथे, बजार नपाएपछि  खरबुजा लगाएँ, राम्रै आम्दानी भएको छ,’ उनले भने।

अघिल्लो वर्ष करेला उत्पादन गरेपनि बिक्री नभएको र उचित मूल्य समेत नपाएको उनी बताउँछन्।

यसपालि खरबुजा लगाएर आफू सफल भएको उनको भनाइ छ।

‘सरस्वती जातको खरबुजा लगाएको थिएँ। यो ६० दिनमा उत्पादन भयो। हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री भइसक्यो,’ उनले भने।

चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उनले बताए।

६ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनले बताए।

आफूले उत्पादन गरेको खरबुजा स्थानीय बजारमा नै खपत हुने महतो बताउँछन्।

‘कुनै विषादी पनि प्रयोग गरेको छैन। अहिले दिनमा २ क्विन्टल बारीबाटै बिक्छ,’ उनले भने।

खरबुजा खेतीमा खासै खर्च र मेहनत गर्नु नपरेको उनले बताए।

‘यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो। स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्,’ उनले भने।    

उनको कृषि फार्ममा ९ जनाले रोजगारी पनि पाएका छन्।  रासस।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्