काठमाडौंमा सुरु भयो तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन

आइतबार, वैशाख १६, २०८१
honor २२ sept

काठमाडौं । आजदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय  लगानी सम्मेलन सुरु भएको छ। होटेल सोल्टीमा सुरु भएको  तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । अर्थमन्त्री वर्षमान पुनले उपस्थित लगानीकर्ता तथा सहभागीहरुलाई स्वागत गरे । 

X7D

अर्थमन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्धेश्य रहेको बताए । उनले आफूहरुको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आएकामा सम्मेलनका पाहुनाप्रति आभार व्यक्त गरे । 

सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उनको भनाइ थियो । 

उनले सम्मेलनले क्रममा लगानीकर्ता र सरोकारवाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए । 

सम्मेलन नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले लिए । 

नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको मन्त्री पुनले उल्लेख गरे । 

उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको उनको भनाइ थियो । 

हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने भन्दै पुनले ढुक्क भएर लगानी गर्न अपील गरे । 

‘व्यवसायिक वातावरण  सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं’, मन्त्री पुनले भने, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।’ 

नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको मन्त्री पुनको स्पष्टोक्ति थियो । 

अर्थमन्त्री पुनले  सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्