भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउँदै कांग्रेस नेता अजयबाबु शिवाकोटी

बिहीबार, मंसिर १४, २०८०
honor mob  winter sales

जाजरकोट  । भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले टहरा बनाइरहेका छन्  ।

Honor x7 pad

नेता शिवाकोटीले मंगलबारदेखि निरन्तर भूकम्प पीडितका लागि अस्थायी टहरा बनाइरहेका छन्। रुकुम पश्चिम आठविसकोट १४, ज्यामिरेकोट पूर्ण गाउँमा उनले अस्थायी आवास (टहरा) बनाइरहेका हुन्। 

नेपाली कांग्रेसले यसपालि जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ । 

सोही क्रममा शिवाकोटीले आफ्नो भूमिका निभाएका हुन् । सायदै यसरी उनले आफ्ना लागि घरका टहरा वा गाईवस्तु पाल्ने गोठ वा अन्य कुनै प्रयोजनका लागि छाप्रा वा टहर बनाए होलान् । 

तर पार्टीको काम भनेको नितान्त समाजसेवा भएको बुझेका शिवाकोटीले व्यक्तिगत परिस्थितिलाई थाँती राखेर आफ्नो राजनीतिक कर्मलाई निखारता दिएका हुन् । 

उनले त्यहाँ भएका सिकर्मीहरुसँग तालमा ताल मिलाइरहेका छन् । शिवाकोटीले शुक्रबारसम्म १५ ओटा टहरा बनाएर हस्तान्तरण गर्ने बताए ।

युवा नेताहरुको सफल प्रयोग 

कांग्रेसमा युवाले नेतृत्व सम्हाल्नुपर्छ भन्दै आवाज उठाउन थालेको लामो समय भइसकेको छ । तर अवसर नै नपाएको गुनासो युवाले गर्दै आएकामा यसपालि गरिएको प्रयोग निकै नै सफल भएको प्रमाणित भएको छ । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले पारेको असरपछि उद्धार, राहत र पुनःनिर्माणमा कांग्रेसको युवा नेतृत्वले सम्हालेको काम र त्यसको सफलताको चर्चा भइरहेको छ । 

यसपालि कांग्रेसको केन्द्रीय नेतृत्वले युवालाई भूकम्प पीडितको उद्धार, राहत र पुनःनिर्माणमा युवालाई अगाडि बढायो । भूकम्पले क्षति पुर्याउनासाथ स्थानीय कांग्रेसका युवा नेताहरुले अगुवाइ गर्दै छिटोभन्दा छिटो उद्धार गर्न सफल भए । भूकम्प गत कार्तिक १७ गते राति ११ः४७ बजे गएको थियो । राति नै भए पनि १२ः३० बजेपछि नै कांग्रेसका युवाहरु उद्धारमा खटिएका थिए । 

मृतकको शव संकलन, पुरिएकाहरुको उद्धार, घाइतेहरुलाई अस्पतालसम्म पुर्याउने व्यवस्था लगायतका काममा कांग्रेसका युवाहरुले स्थानीय प्रशासन सँगसँगै स्वतस्फूर्त सघाउन खटिएकाहरुसँग सहकार्य गरेका थिए । 

साथै कांग्रेस अर्को दिनदेखि नै राहत वितरणको काममा सक्रिय भएको थियो । संघीय सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने हो भने कोही पनि काखा पाखा हुनु नपर्ने नीति ल्याएपछि सरकारमा संलग्न कांग्रेसले त्यसमा सक्रियता देखाउन थाल्यो । 

भूकम्पको अवस्था बुझ्न र कसरी त्यसलाई व्यवस्थित गरेर पीडितको दैनिकी सहज गराउन सकिन्छ भनेर महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीले खटायो ।

सँगसँगै केन्द्रीय सदस्य गोविन्द पोखरेल पनि रहेका थिए । विभिन्न सात बुँदामा आधारित रहेर उनीहरुले अवस्था संकलन गरे । त्यहाँ बसुन्जेल सक्रिय भएर अस्थायी टहरा बनाउन मद्धत गरे । 

यो टोलीले भूकम्प प्रभावित क्षेत्रको सम्पूर्ण वस्तुस्थिति बुझेर तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कदमहरु बारेमा पार्टी सभापति शेरबहादुर देउवा सँगसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव पत्र बुझायो । 

पालमा बसेर हुँदैन तत्काल राहत दिनुपर्छ भनेर आउँदा आउँदै गगन–विश्वप्रकाशले बुझाएको सुझाव पत्रका आधारमा नै सरकारले सरकारले शुरुआतमै अस्थायी टहराका लागि ५० हजार रुपैयाँ सिधै पीडितको हातमा दिने व्यवस्था गरेको छ । 

त्योसँगै कांग्रेसले एकद्धार प्रणाली अन्तर्गत सबैभन्दा पहिले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । भूकम्प गएको अर्को दिन नै कांग्रेसले भूकम्प पीडितलाई सघाउने बताएको थियो । 

सोही अनुसार सरकारलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्यो ।

त्यतिमात्र मात्रै व्यक्तिगत रुपमा नेताहरुले सहयोग गर्ने क्रम रोकिएको छैन । पार्टी सांसदहरुको १५ दिनको तलबसमेत भूकम्प प्रभावित क्षेत्रमा दिने निर्णय गर्यो । 

त्यसपछि कांग्रेसले एक हजार अस्थायी आवास बनाइदिने घोषणा गर्यो । जसअनुसार कांग्रेसले युवा नेताहरुलाई प्रभावित क्षेत्रमा खटायो । 

पहिलो चरणमा युवा नेता प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले एक सय अस्थायी आवास बनाएर हस्तान्तरण गरिसकेका छन् ।

पौडल फर्के पनि प्राविधिक टोलीले भने निरन्तर काम गरिरहेको छ । त्यसका साथै कांग्रेसले केन्द्रबाट अर्को टोली पनि खटाएको छ । उक्त टोली जाजरकोटका ७ तथा रुकुम पश्चिमका चार पालिकामा खटाएको छ । 

त्यस अन्तर्गत नै शिवाकोटीसहितका केन्द्रीय सदस्यहरु खटिएका हुन् । जसमा जाजरकोटको बारेकोट गाउँपालिकामा गोविन्दबहादुर शाह, त्रिवेणी नलगाड नगरपालिकामा योगेन्द्र चौधरी, शिवालय गाउँपालिकामा राजीव ढुंगाना, जुनिचाँदे गाउँपालिकामा कुन्दनराज काफ्ले, कुसे गाउँपालिकामा इन्जिनियर मोहन आचार्य, भेरी नगरपालिकामा उमेशजंग रायमाझी र छेडागड नगरपालिकामा नैनसिंह महर खटिएका छन् ।

त्यस्तै रुकुम पश्चिमका चौरजहारी नगरपालिकामा आङगेलु शेर्पा भए पनि उनी गएका छैनन् । सानोभेरी गाउँपालिकामा गुरु बरालले अस्थायी टहरा सम्पन्न गरेर हस्तान्तरणसमेत गरेका छन् । अस्थायी टहरा बनाउने क्रम निरन्तर छ । स्थानीय नेताहरु पनि नियमित रुपमा यही काममै खटिएका छन् । 

केन्द्रबाट गएका नेताहरु आफैँ नै फिल्डमा उत्रिएर काममा सघाइरहेका छन् । सहमहामन्त्री जीवन परियारले मंसिर भित्रमै कांग्रेसले घोषणा गरेका एक हजार टहरा बनाउने काम सम्पन्न हुने दाबीसमेत गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्