विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत

आइतबार, असोज १४, २०८०
honor २२ sept

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रस्तुत भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

X7D

मन्त्री राईले विधेयक दर्ता भइसकेपछि सरोकारवालाले गरेका आन्दोलन र भएका सहमतिलाई संशोधनको प्रक्रियाबाट सम्बोधन गराउन आवश्यक रहेको बताए। उनले संविधानको प्रबन्धअनुसार शिक्षाको मौलिक हकको कार्यान्वयन, तीन तहका सरकारबीचको शिक्षा सञ्चालनको कार्यक्षेत्र र व्यवस्थापनका लागि विधेयक ल्याइएको बताए।

विधेयक प्रस्तुत नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो। सांसद सुवालले विधेयक दर्ता भएसँगै शिक्षकको आन्दोलन भएको, निजी विद्यालयले आफूखुसी शुल्क लिने प्रवृत्ति रोक्न नसकिएको र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापना गर्न लागिएकोमा असन्तुष्टि व्यक्त गरे।

जवाफमा मन्त्री राईले विसं २०७५ मा मस्यौदा भई मन्त्रिपरिषद्मा पुगेर फिर्ता भई पुनः मन्त्रिपरिषद् हुँदै संसद्मा आइपुगेकाले सहमतिका आधारमा संसदीय प्रक्रियाबाट यसलाई पारित गर्न आग्रह गरे।

उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गते मङ्गलवार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्