बाजुरामा ५०० मिटर तल खस्यो ट्रयाक्टर, तीन जनाको मृत्यु, चार घाइते

शनिबार, मंसिर १२, २०८३

बाजुरा । बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका–३ दाउणा भन्ने स्थानमा शुक्रबार साँझ ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया रामशारादेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। धनरुप र धर्मको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सिंहको उपचारका क्रममा शनिबार बिहान १ः१५ बजे मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया सङ्गीता शाही घाइते भएका छन्। त्यस्तै, अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ट्रयाक्टर चालक नवीन बोहरा पनि घाइते भएका छन्। घाइतेमध्ये सङ्गीता शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ करिब ६ः३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्रयाक्टर जगन्नाथ गाउँपालिका–३ स्थित दाउणा भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनाबारे स्थानीय सुवास विकले जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएपछि प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी नायव निरीक्षक भागिरथ सिंह धामीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली राति करिब ११ बजे घटनास्थल पुगेपछि घाइतेहरूको उद्धार गरी उपचारका लागि कोल्टी आधारभूत अस्पताल पुर्‍याइएको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०९:५५
प्रतिक्रिया दिनुहोस्