सल्यानमा बोलेरो दुर्घटना: दुईको मृत्यु, चार घाइतेको दाङमा उपचार हुँदै

शनिबार, भदौ २७, २०८३

सल्यान । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा एक बालक र एक किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ की १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको हो। उनीहरूको जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा शनिबार बिहान १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए।

अस्पतालमा चेकजाँचपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका चालक त्रिवेणी गाउँपालिका–५ सिम्खका २४ वर्षीय भूपाल पुन र त्रिवेणी गाउँपालिका–६ की ४२ वर्षीया लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, त्रिवेणी गाउँपालिका–५ का २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वलीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब ८ बजे त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित सरस्वती माध्यमिक विद्यालय नजिकै भित्री सडकखण्डमा लु ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह