सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
रबिन्द्र यादव/सुस्ता । आफूले समर्थन गरेको २०८२ भदौ २३ गतेको जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा नेता हृदयेश त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक तथा गम्भीर धारणा सार्वजनिक गरेका छन्। उनले आन्दोलनका क्रममा भएको मानवीय क्षति, त्यसपछि देशभर देखिएको लुटपाट तथा आगजनी र त्यसबाट निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिबारे सरकारप्रति प्रश्न उठाएका छन्।
त्रिपाठीले फेसबुकमा लेख्दै आफूले समर्थन गरेको आन्दोलनको एक वर्ष पूरा भएको स्मरण गरेका छन्। उनले तत्कालीन राजनीतिक नेतृत्वको दम्भ र लोभका कारण अवस्था नरसंहारसम्म पुगेको आरोप लगाउँदै आन्दोलनका क्रममा करिब पाँच दर्जन युवाले ज्यान गुमाएको उल्लेख गरेका छन्।
आन्दोलनपछि देशभर लुटपाट र आगजनी सुरु भएको तथा निजी र सार्वजनिक सम्पत्तिसमेत ध्वस्त पारिएको भन्दै उनले राज्य मुकदर्शक बनेर आफ्नो धर्म निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
त्रिपाठीका लागि यो क्षति केवल एउटा राजनीतिक घटनाको स्मरण मात्र नभएर व्यक्तिगत पीडासमेत बनेको छ। उनले आफ्नो घर तथा बैंकबाट ऋण लिएर जेन्जी उमेरको आफ्नो छोराले स्थापना गरेको सक्वर उद्योगसमेत लुटपाट र आगजनीबाट ध्वस्त पारिएको बताएका छन्।
उद्योग ध्वस्त हुँदा एउटा युवाको सपना चकनाचुर भएको र त्यसको प्रत्यक्ष असर सयौँ परिवारमा परेको उनले उल्लेख गरेका छन्। उनका अनुसार उद्योग बन्द हुँदा करिब तीन सय मजदुरको रोजगारी गुमेको छ भने केही सय किसान पनि आफ्नो सुविधाबाट वञ्चित भएका छन्।
उनले आन्दोलनका क्रममा भएको घटनालाई सामान्य राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्न नसकिने टिप्पणी गर्दै त्यसलाई पूर्ण आपराधिक क्रियाकलाप भएको दाबी गरेका छन्। घटनाको छानबिनका लागि विभिन्न आयोग तथा समिति गठन भए पनि पीडितले भोगेको क्षतिको उचित सम्बोधन हुन नसकेको उनको गुनासो छ।
त्रिपाठीले उद्योग ध्वस्त भएपछि समेत आफूहरूले बैंक ऋणको ब्याज तिर्न बाध्य हुनुपरेको उल्लेख गरेका छन्। राज्यबाट कुनै प्रकारको राहत वा सुविधा प्राप्त नभएको भन्दै उनले पीडित उद्योगी तथा व्यवसायीको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाए।
उनले नेपालमा उद्योग स्थापना गर्नु नै अपराधजस्तो बन्न पुगेको भन्दै देशमा वाणिज्य र बिचौलियालाई मात्र उपयुक्त वातावरण रहेको टिप्पणी गरेका छन्। उद्योग र निजी सम्पत्तिको सुरक्षा गर्न नसक्ने राज्यले विदेशी लगानी भित्र्याउने आधार कसरी तयार गर्न सक्छ भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
‘जुन राज्यले उद्योग र सिंहदरबार, सर्वोच्च अदालतको रक्षा गर्न असमर्थ छ, त्यस देशमा विदेशी लगानी कसरी र किन आउँलारु’ भन्दै त्रिपाठीले सरकारको नीति, सुरक्षा व्यवस्था र लगानीको वातावरणप्रति गम्भीर प्रश्न गरेका छन्।
आफूले समर्थन गरेको आन्दोलनबाट देशले ठूलो मानवीय तथा आर्थिक क्षति बेहोर्नुपरेको भन्दै उनले एक वर्ष बितिसक्दा पनि पीडितको घाउ निको हुन नसकेको संकेत गरेका छन्। आफ्नो घर–परिवारसँग जोडिएको उद्योगसमेत ध्वस्त भएपछि रोजगारी गुमाएका मजदुर, प्रभावित किसान र आर्थिक संकटमा परेका परिवारप्रति समेत उनले पीडा व्यक्त गरेका छन्।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै त्रिपाठीले अन्त्यमा, ‘बर्बादीको एक वर्ष पूरा भयो हाम्रो। फेरि पनि सरकारलाई शुभकामना’ भन्दै सरकारप्रति व्यंग्यात्मक असन्तुष्टि व्यक्त गरेका छन्।