आमाको स्मृतिमा पत्रकार वीरेन्द्र र निशुले ३ लाखको 'विष्णादेवी जैसी स्मृतिकोष’ स्थापना गर्दै

बुधबार, भदौ २४, २०८३

नेपालगञ्ज । दिवंगत विष्णादेवी जैसीको स्मृतिमा उनका परिवारजनले सामाजिक तथा सार्वजनिक हितका कार्यमा उपयोग गर्ने उद्देश्यले रु. ३ लाखको ‘विष्णादेवी जैसी स्मृति कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।

५३ वर्षको उमेरमा यही भदौ १७ गते राति असामयिक निधन भएकी जैसीको स्मृतिलाई चिरस्थायी बनाउन तथा दिवंगत आत्माको शान्तिको कामनासहित परिवारजनले अक्षयकोष स्थापना गर्ने निर्णय गरेका हुन् ।

परिवारका अनुसार कोषबाट सामाजिक तथा सार्वजनिक हितका विभिन्न कार्य सञ्चालन गरिनेछ । कोष सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया स्व। जैसीको प्रथम वार्षिक पुण्यतिथिसम्ममा पूरा गरिसक्ने तयारी गरिएको छ ।

परिवारजनले दिवंगत विष्णादेवी जैसीको भौतिक उपस्थिति नरहे पनि उनले दिएको संस्कार, मार्गदर्शन तथा अमूल्य सम्झनाहरू सदैव परिवारको मनमस्तिष्कमा जीवित रहने बताएका छन् ।

शोकसन्तप्त परिवारका तर्फबाट छोरा वीरेन्द्र जैसीले स्मृति कोष स्थापना सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् । स्वर्गीय विष्णादेवीकी जेठा छोरा वीरेन्द्र (वीपी अस्तु) बाँकेमा क्रियाशील पत्रकार एवम् साहित्यकार हुन् ।

स्वर्गीय विष्णादेवीकी जेठी बुहारी एवम् वीरेन्द्रकी धर्मपत्नी अमृता जैसी (निशु) पनि बाँकेमै क्रियाशील पत्रकार हुन् । जैसी परिवारको स्थायी बसोबास कैलालीको जानकी गाउँपालिका वडा नम्बर ८ भगरियामा रहेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्