सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा गरी मंगलबार साँझ ५ बजेसम्म १ हजार ३ सय ६४ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ७३, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २६ र नवलपरासी पश्चिममा २ सय २२ वटा छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार १ सय ४० शवको व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० तथा आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९२ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३ सय १० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
यसैबीच, बाढीपछि बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार २ सय ४५ जनालाई राखिएको छ।