सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि महाधिवेशनको प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्। उनले समयमै प्रक्रिया नरोके पार्टी विभाजनको अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटमा लेखकले कांग्रेसको एकता जोगाउन आफूहरू अझै पनि लचकताका साथ समाधान खोजिरहेको बताए। उनका अनुसार विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका संरचनालाई समेटेर विवाद समाधानको बाटो खोज्नुपर्छ।
विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति हटाएपछि अहिलेको परिस्थिति बनेको लेखकको दाबी छ। उनले सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गर्नुपर्ने प्रस्ताव अघि सारेको बताए।
कार्यसमितिमा सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्ना पक्षबाट पनि आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सकिने विकल्प दिइएको उनले बताए।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापतिले संयोजक तोक्न र बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट कम्तीमा एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफ्नो पक्षको प्रस्ताव रहेको लेखकले बताए। ‘गगनजीलाई नै सभापति मानेर पार्टी मिलाउने प्रयास गरिरहेका छौँ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन,’ लेखकले भने।
उनले अझै पनि पार्टीभित्रको विवाद समाधान गर्न सकिने ठाउँ रहेको भन्दै दुवै पक्षले आ–आफ्नो ठाउँबाट महाधिवेशनको प्रक्रिया रोक्नुपर्ने बताए। महाधिवेशनको प्रक्रिया नरोकिए पार्टी विभाजन हुन सक्ने उनको चेतावनी थियो।
लेखकले अदालतमा विचाराधीन आधिकारिकतासम्बन्धी मुद्दाको फैसला पर्खेर अघि बढ्नुपर्ने धारणा पनि राखे। कुनै एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा सम्पूर्ण विवाद समाधान भएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो।
पार्टी विभाजनको अवस्था आए त्यसको जिम्मेवारी महाधिवेशन प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनीसमेत लेखकले दिए।सभापति गगन थापा नेतृत्वले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। तर संस्थापन इतर समूहले उक्त मिति स्वीकार नगरी मंसिरमा महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ।