आज कृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजाआराधना गरिदैं

शुक्रबार, भदौ १९, २०८३

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको पूजाआराधना गरी आज देशभर ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको हुँदा आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र आजको रातलाई ‘मोहरात्रि’ का रूपमा मनाउने गरिन्छ। यस अवसरमा आज देशभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन र भजनकीर्तन भइरहेको छ भने विशेषगरी महिला तथा पुरुषहरू व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा धर्तीमा अवतरित भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि प्रेरणा दिएका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको युद्धका क्रममा पाण्डव अर्जुनलाई दिइएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ लाई हिन्दु धर्ममा एक पवित्र ग्रन्थका रूपमा लिइन्छ। छोटकरीमा गीता भनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषाहरूमा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विविध लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। आजको यस पवित्र दिनमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहराको नवतनधामलगायत देशभरका विभिन्न साना तथा ठूला कृष्ण मन्दिरहरूमा भक्तजनहरूको भारी घुइँचो लागेको छ। 

साथै, यसै उपलक्ष्यमा राजधानीलगायत देशका विभिन्न स्थानमा धार्मिक संघसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित भव्य शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि रहेको छ। श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा नेपाल सरकारले आज एक दिन सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्