भोटेकोशी बाढी: मृतकको संख्या १२ सय ९० पुग्यो

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीका अनुसार बिहीबार राति ८ बजेसम्म रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा यति ठूलो संख्यामा शव फेला परेका हुन्।

फेला परेका शवको विवरणमा भारतमा भेटिएका शवसमेत समेटिएको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार पहिचान खुलेका शवमा ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन्। यस्तै, ५३२ वटा आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ।

बाढीपछि प्रभावित तथा घाइतेको उपचारलाई पनि तीव्र बनाइएको छ। हालसम्म ५ हजार ३८४ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न अस्पतालमा अहिले पनि ३०४ जना उपचाररत छन्।

नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत १ हजार ८७४ जनाले उपचार सेवा पाएका छन्। उद्धारसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखेर काम भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ३ हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ताको खोजी, शव संकलन तथा व्यवस्थापन, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०६:५५
प्रतिक्रिया दिनुहोस्