एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ६ विकेटले हरायो

बिहीबार, भदौ १८, २०८३

काठमाडौं । एसीसी प्रिमियर  कपको दोस्रो खेलमा नेपाल विजयी भएको छ। आज बिहान भएको खेलमा बलिङमा करण केसी तथा ब्याटिङमा अर्जुन कुमालले राम्रो प्रदर्शन गरेपछि मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो।

बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२।३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।

विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले ७।३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१  विकेट लिए ।नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । अब नेपालले आइतबार हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्