सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको अपूरणीय मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यो विपद् सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको विशेष समयमा सम्बोधन गर्दै उनले गत भदौ १० गतेको बाढीले क्षणभरमै ठूलो जनधनको क्षति पुर्याएको स्मरण गरे।
विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे। उनले भने, ‘भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो। यो अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
भोटेकोशी बाढीको पीडत केवल रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिङ्गो देशको छातीमा परेको साझा बज्रपात भएको उनले बताए। संकटको यस घडीमा नेतृत्वको भूमिका र जिम्मेवारी स्पष्ट पार्दै प्रधानमन्त्री शाहले शारीरिक थकान वा पीडा देखाएर विश्राम लिने छुट नभएको बताए।
संसद्मा बोल्दै उनले थपे, ‘शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन। संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आड–भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ। त्यसैले दृढ संकल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प छैन, हामी लडिरहेका छौँ।’
विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कामहरू उच्च प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै प्रधानमन्त्री शाहले सरकार जनताको साथमा दृढ रूपमा उभिएको स्पष्ट पारे।