सामाजिक दायित्व निभाउँदै सुनाखरी रेष्टुरेन्ट, बाढीपीडितका लागि ५१ हजार राहत कोषमा

मंगलबार, भदौ १६, २०८३

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले आर्थिक सहयोग गरेको छ ।

सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बाढीपीडितको राहतका लागि मंगलबार रु। ५१ हजार नेपाल सरकारको राहत कोषमा जम्मा गरेका हुन् । उनले बैंक खातामार्फत रकम जम्मा गरी त्यसको भौचर जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएका छन् ।

सहयोग प्रदान गर्दै प्रबन्ध निर्देशक शर्माले विपद्का कारण देशले ठूलो पीडा र क्षति व्यहोर्नुपरेको तथा धेरै नेपाली नागरिक प्रभावित भएकाले मानवीय दायित्वबोध गर्दै आफ्नो तर्फबाट सहयोग गरेको बताए ।

‘देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका बेला पीडितको साथमा उभिनु हाम्रो सामाजिक दायित्व हो,’ शर्माले भने, ‘सानो भए पनि हाम्रो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास लिएका छौँ ।’

सुनाखरी रेष्टुरेन्टले विगतदेखि नै सामाजिक विकास तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्