'पीडितको आँसुमाथि यस्तो टिप्पणी कुन सभ्यताको उपज हो?’ सामाजिक सञ्जालप्रति केसीको आक्रोश

मंगलबार, भदौ १६, २०८३

काठमाडौँ ।  नेपाली कांग्रेसका अग्रज नेता एवं सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जालमा बढ्दै गएको अमर्यादित, क्रूर र गालीगलौजयुक्त प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समाज सभ्यताको बाटो छाडेर बर्बरतातिर उन्मुख भइरहेको बताएका छन्।

नेता केसीले सामाजिक सञ्जाल समाजको प्रतिबिम्ब हुनुपर्नेमा अहिले यो अधोगति, क्रूरता र नैतिक पतनको कुरुप अनुहार बन्दै गएको उल्लेख गरेका छन्। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र प्रश्न गर्ने अधिकार नैसर्गिक भए पनि यसैको आडमा अपमानजनक टिप्पणी, गालीगलौज र चरित्रहत्या गर्ने प्रवृत्ति बढेकोमा उनले असन्तोष व्यक्त गरेका छन्। ‘गाली गर्नु’ र ‘प्रश्न गर्नु’ बीचको फरक छुट्याउन नसक्दा सामाजिक सद्भाव बिग्रिनुका साथै मानिसको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर परेको उनको ठहर छ।

स्टाटसको अन्त्यमा उनले हालैको एक हृदयविदारक घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। सुरुङमा श्रीमान् फसेपछि सहयोगको अपिल गर्दै रुँदै गरेका एक महिलाको भिडियोमुनि गरिएको चरम अपमानजनक र असंवेदनशील टिप्पणीले आफूलाई गहिरो लज्जा र चिन्तामा पारेको उनले बताएका छन्। पीडितको आँसुमाथि समेत प्रहार गर्ने त्यस्तो मानसिकता कुनै एक व्यक्तिको मात्र अभद्रता नभई सामूहिक नैतिक पतनको प्रमाण भएको उनको निष्कर्ष छ।

अन्त्यमा, लोकतन्त्रले उत्तरदायी स्वतन्त्रता खोज्ने तर लज्जाहीन स्वेच्छाचारितालाई छुट नदिने स्पष्ट पार्दै नेता केसीले असहमति प्रकट गर्दा तर्क, तथ्य र शिष्टाचारको सीमा ननाघ्न सबैलाई आग्रह गरेका छन्। यदि बेलैमा सचेत नभए समाजले आफ्ना मौलिक सभ्यता र मानवता पूर्ण रूपमा गुमाउने चेतावनीसमेत उनले दिएका छन्।

यस्तो नेता केसीको स्टाटस-

सामाजिक सञ्जाल हाम्रो समाजको चित्र  हो। तर यो चित्र अहिले अत्यन्त कुरुप बन्दैछ। यसमा हाम्रो सभ्यता, संस्कृति, मर्यादा र संस्कारको प्रतिबिम्ब होइन, बरु हाम्रो अधोगति, क्रूरता र नैतिक पतनको कुरूप अनुहार झल्किरहेको देखिन्छ ।लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार हो। प्रश्न गर्ने, असहमति जनाउने र आफ्नो विचार राख्ने अधिकार शाश्वत र नैसर्गिक हो। तर यो अधिकारको आडमा सामाजिक सञ्जालमा बढ्दो अति नकारात्मक, अपमानजनक, गालीगलौज र चरित्रहत्या अब अभिव्यक्ति होइन, बर्बरता बन्दै छ। यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई होइन, मानवतालाई नै धज्जी उडाएको छ।विचारको विविधतालाई सम्मान गर्नुको सट्टा अरूलाई नीच देखाउने, घृणा फैलाउने र अमानवीय टिप्पणी गर्ने प्रवृत्तिले हाम्रो सहिष्णुता र सुसंस्कारलाई क्रमशः मारेको छ। ‘गाली गर्नु’ र ‘प्रश्न गर्नु’ बीचको फरक भुल्दा सामाजिक सद्भाव मात्र बिग्रिएको छैन, मानिसको मानसिक स्वास्थ्य र मर्यादामा  समेत गम्भीर चोट परेको छ।यो कुनै दलविशेष सगको  आग्रह ,पूर्वाग्रह  वा कसैको समर्थकले गरेको कुरा मात्र होइन। यो समग्र समाज कता जाँदैछ भन्ने गम्भीर  र जटिल प्रश्न हो। लोकतन्त्रले उत्तरदायी स्वतन्त्रता माग्छ, लज्जाहीन स्वेच्छाचारिता होइन।असहमति दर्ता गर्दा पनि तर्क, तथ्य र शिष्टाचारको सीमा नाघ्न हुँदैन। रचनात्मक आलोचनाले समाज सुधार्छ। विषालु र अति नकारात्मक टिप्पणीले सभ्यता नै ध्वस्त पार्छ। आफ्नो अधिकार प्रयोग गर्दा अरूको मर्यादा र आफ्नै संस्कारको रक्षा गर्नु प्रत्येक नागरिकको कर्तव्य हो।समाज, संस्था, राजनीतिक दल र प्रत्येक व्यक्ति यस विषयमा गम्भीर हुनु जरुरी छ। अन्यथा हामी आफैं आफ्नो मानवता र सभ्यता  गुमाउँदै जानेछौं।सामाजिक सञ्जालमा देखिएका केही अंश प्रस्तुत गर्दछु।एकजना महिलाले रुँदै भनेकी छिन्, “मेरो श्रीमान् सुरुङमा फस्नुभएको छ, सरकार सहयोग गर्नुहोस्।”त्यो भिडियोमुनि कसैको कमेन्ट छ— “तँलाई तेरो पोइसँग सुत्न हतार भयो?”यो पढ्दा र हेर्दा दिक्क मात्र होइन, गहिरो लज्जा र चिन्ता लाग्छ। पीडितको आँसुमाथि यस्तो टिप्पणी गर्ने मानसिकता कुन सभ्यताको उपज हो? हामी कहाँ पुग्दैछौं?यो टिप्पणी केवल एक व्यक्तिको अभद्रता होइन। यो हाम्रो सामूहिक नैतिक पतनको प्रमाण हो। जब पीडामा रोइरहेकी महिलालाई समेत यस्तो भाषामा सम्बोधन गरिन्छ, तब बुझ्नुपर्छ—हामी सभ्यताको बाटो छाडेर बर्बरतातिर उन्मुख भएका छौं।अहिले नै सचेत नभए भोलि यो ऐना अझ फोहोर हुनेछ। र त्यस ऐनामा हामी आफैंलाई चिन्न पनि छाड्ने  छौ।
सामाजिक संजाल मा अभिब्यक्त केही अन्स --------

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्