सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ ।
विदुर नगरपालिका–१० स्थित एक घरमा सुरक्षाकर्मीले खोजी तथा उत्खनन गर्ने क्रममा २४ जनाको शव फेला पारेका हुन् । नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार फेला परेका शवमध्ये १३ जना महिला, १० जना पुरुष र एक बालकको रहेको छ ।
फेला परेका शवमध्ये हालसम्म कसैको पनि पहिचान खुलेको छैन । शवहरू पोस्टमार्टम तथा पहिचानका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
बाढीमा बगेका मानिसहरू सोही घरमा कसरी र किन ठूलो संख्यामा भेटिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त घरको स्वामित्व र प्रयोजनसमेत यकिन हुन सकेको छैन । एसपी रेग्मीका अनुसार स्थानीय जनप्रतिनिधिसँग समेत सम्पर्क हुन नसकेकाले घरधनीबारे तत्काल जानकारी प्राप्त हुन सकेको छैन । घर होटल वा गेस्ट हाउसजस्तो देखिए पनि त्यसको पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौँ । वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन । होटल वा गेस्ट हाउसजस्तो पनि देखिन्छ, तर यकिन भएको छैन । कन्फर्म गर्ने प्रयास गर्दैछौँ,’ एसपी रेग्मीले भने ।