भोटेकोशी बाढीमा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चबापत ५० हजार दिने कोहलपुरको निर्णय

शनिबार, भदौ १३, २०८३

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले भोटेकोशीमा आएको विनाशकारी  बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आज बसेको नगर कार्यपालिका बैठकले बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । 

हालसम्म कोहलपुरका एक जनाको बाढीमा परी मृत्यु भएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिका ११ का कविराम थारुको मृत्यु भएको छ । थारुको शव चितवनमा फेला परेको थियो । उनको आजै कोहलपुर शवदाहगृह अन्त्यष्टि गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । अझै ११ जना बेपत्ता भएको विवरण आफन्तहरुले नगरपालिकालाई टिपाएका छन् । 

कार्यपालिकाको बैठकले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि टोली परिचालन गर्ने निर्णय गरिएको छ । वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नम्बर २ का वडा अध्यक्ष हरि सिंह कठायतल, ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र ६ का वडा अध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय गर्नेछ । 

विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णय समेत गरेको छ । राहत तथा उद्धारमा सहयोग पुर्‍याउन जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगर प्रमुख आचार्यले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १२:२५
प्रतिक्रिया दिनुहोस्