भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो, चितवनमा मात्रै २२१ शव

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेको संख्या ५४७ पुगेको छ। नेपाल प्रहरीले शुक्रबार दिउँसो ३ बजेसम्म संकलन गरेको विवरणअनुसार बाढीपछि विभिन्न जिल्लाबाट ५४७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनबाट २२१ जनाको शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिन ४ हजार ४७३ प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीपछि २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारीको भने शव फेला परिसकेको छ।

यसैबीच बाढीबाट प्रभावित भई घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ। तीमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य अझै जारी रहेकाले तथ्यांक थप अद्यावधिक हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १६:४९
प्रतिक्रिया दिनुहोस्