चीनतर्फको ड्याम पुनः फुट्यो: सतर्क रहन आग्रह

शुक्रबार, भदौ १२, २०८३

रसुवा । नेपाल–चीन सीमावर्ती तिब्बतमा पहिरोका कारण बनेको कृत्रिम ताल (ड्याम) पुनः फुटेपछि भोटेकोशी र त्रिशूली नदी आसपास बाढीको जोखिम बढेको छ।

चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर ठूलो मात्रामा पानी तलतर्फ बग्न थालेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।

ड्याम फुटेको खबरसँगै नेपाल प्रहरीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र तथा जोखिममा रहेका स्थानका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

रसुवामा सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि खटिएका एसएसपी दीप शमशेर जबराले उद्धार तथा राहतमा परिचालित सुरक्षाकर्मी र उद्धारकर्मीलाई समेत तत्काल काम रोकेर सुरक्षित स्थानमा जान निर्देशन दिइएको बताए।

बुधबारको भीषण पहिरोपछि चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास कृत्रिम ताल बनेको थियो। पानीको सतह बढ्दै गएर ओभरफ्लोको अवस्थामा पुगेको उक्त ड्याम पुनः फुटेपछि नेपालतर्फ नदीमा अचानक पानीको बहाव बढ्न सक्ने जोखिम देखिएको हो।

प्रहरीले नदी किनार र जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्