भोटेकोशी बाढी: ४६९ शव फेला [पछिल्लो अपडेट]

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा पूर्व र पश्चिम् नवलपरासीका विभिन्न क्षेत्रमा ती शव फेला परेका हुन् ।

प्रहरीको विवरणअनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा १ हजार ५४५ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ । रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८४ रहेको प्रहरीले जनाएको छ ।

यस्तै, बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्