सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पवित्र पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले धार्मिक विधिअनुसार मनाउँदै छन्। सत्ययुगदेखि चलिआएको मानिने यस पर्वमा आध्यात्मिक शुद्धीकरण, आत्मरक्षा तथा पारिवारिक सम्बन्ध सुदृढ बनाउने विभिन्न धार्मिक अनुष्ठान गरिन्छ।
जनैपूर्णिमाका अवसरमा बिहानैदेखि श्रद्धालुहरू नदी, तलाउ, पोखरी तथा विभिन्न जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना र तर्पण गर्ने गर्दछन्। वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाजलाई सप्तऋषिका रूपमा स्तुति गर्दै जौ, तिल र कुशद्वारा तर्पण दिने परम्परा छ।
यस दिन गुरु तथा पुरोहितबाट मन्त्र उच्चारणसहित नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने चलन छ। भविष्यपुराणमा उल्लेख भएअनुसार देवगुरु बृहस्पतिले शक्तिशाली दानवराज बलिलाई बाँधेर देवगणको रक्षा गरेको स्मरणमा रक्षाबन्धन बाँध्ने परम्परा सुरु भएको मानिन्छ।
रक्षाबन्धन बाँध्दा ‘जुन रक्षासूत्रले दानवहरूका महान् राजा बलिलाई बाँधिएको थियो, त्यही रक्षासूत्रले तिमीलाई बाँध्दछु, यसले तिम्रो सदैव रक्षा गरोस्’ भन्ने भावको मन्त्र उच्चारण गर्ने धार्मिक परम्परा छ।
जनैपूर्णिमाका दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारी समुदायले पुरानो जनै त्यागेर मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने गर्दछन्। नयाँ जनै धारण गर्नुअघि ऋषिहरूलाई तर्पण दिने परम्परा छ। शास्त्रीय मान्यताअनुसार जनै धारणले मानिसलाई अनुशासित, विवेकशील र धार्मिक आचरणतर्फ प्रेरित गर्ने विश्वास गरिन्छ।
विभिन्न धार्मिक ग्रन्थ तथा परम्परामा श्रीराम, श्रीकृष्ण, भगवान् शिव, ब्रह्मा, महाराजा जनक तथा माता पार्वती, सीता र दुर्गालगायतले जनै धारण गरेको उल्लेख पाइन्छ। प्राचीन समयमा महिलाले समेत जनै धारण गर्ने गरेको मान्यता रहे पनि पछिल्लो समय यो परम्परा सीमित हुँदै गएको पाइन्छ।
यसै दिन विशेषगरी नेपालको तराई क्षेत्र तथा भारतमा प्रचलित राखी बाँध्ने परम्परा पछिल्लो समय देशका अन्य भूभागमा समेत विस्तार भएको छ। दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्ने तथा दाजुभाइले उपहार वा दक्षिणा दिँदै दिदीबहिनीको रक्षाको वचन दिने चलन छ।
राखी बाँध्ने परम्पराले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता तथा पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ। धार्मिक आस्था, संस्कार र पारिवारिक प्रेमसँग जोडिएको जनैपूर्णिमा नेपालमा विभिन्न समुदायले आ–आफ्नै परम्परा र विधिअनुसार मनाउने गर्दछन्। आज यहि पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ