सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बाँकेको नरैनापुर गाउँपालिकाले करिब २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट निश्चित दिनबराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । विपद्का बेला प्रभावित नागरिकप्रति स्थानीय तहको ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार जनप्रतिनिधि तथा अधिकृतस्तर र त्यसभन्दा माथिका कर्मचारीले सात दिनबराबरको तलब सहयोग गर्नेछन् । सहायकस्तर र त्यसभन्दा मुनिका कर्मचारीबाट पाँच दिनको पारिश्रमिक कट्टा गरिनेछ ।
त्यस्तै अधिकृतस्तर र सोभन्दा माथिका शिक्षकले पाँच दिन तथा सहायकस्तर र त्यसभन्दा मुनिका शिक्षकले तीन दिनको तलब सहयोग गर्ने निर्णय भएको वलीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताए । स्थानीय सरकार पनि पीडित परिवारको साथमा रहेको अनुभूति दिलाउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट पारिश्रमिक सहयोग गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत भरत बस्नेतका अनुसार निर्णयअनुसार सम्बन्धित व्यक्तिको पारिश्रमिकबाट रकम कट्टा गरी एकीकृत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । रकम संकलन तथा कोषमा पठाउने प्रक्रिया कानुन र आर्थिक अनुशासनअनुसार पारदर्शी रूपमा अघि बढाइने उनले बताए ।
सहायक लेखा अधिकृत प्रकाश अधिकारीले पनि सम्बन्धित जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलबबाट तोकिएको दिनबराबरको रकम कट्टा गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारका विभिन्न तह, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको जनाएको छ । रसुवामा आएको बाढीपछि देशभरबाट राहत तथा उद्धारका लागि सहयोग जुटिरहेका बेला नरैनापुरको यो निर्णय स्थानीय तहबाट राष्ट्रिय विपद् व्यवस्थापनमा गरिएको ऐक्यबद्धताका रूपमा लिइएको छ ।