सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये १६५ जनाको शव फेला परेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार बिहान ८ः१५ बजेसम्मको विवरणमा अझै ८२६ जना सम्पर्कविहीन छन्।
बेपत्ता हुनेमा सुरक्षाकर्मीसमेत छन्। केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। तीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।
अन्य बेपत्तामध्ये रसुवाका १६१ र नुवाकोटका एक जना रहेको केन्द्रले जनाएको छ। यसैगरी बाढी तथा विपद्का कारण ५७९ जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी पर्यटक छन्।
विपद्मा परेका १०४ जनाको भने उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना रहेका छन्।
फेला परेका १६५ शवमध्ये सबैभन्दा धेरै चितवनको नारायणी नदी आसपासबाट ६४ वटा भेटिएका छन्। त्यस्तै धादिङमा २७, पुर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा पाँच र रसुवामा दुईवटा शव फेला परेको विवरण केन्द्रले सार्वजनिक गरेको छ।
केन्द्रका अनुसार फेला परेका केही शव क्षतविक्षत अवस्थामा रहेका छन्। शव तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने भएकाले खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
गृह मन्त्रालयले विपद्को अवस्थासँग सम्बन्धित सूचना संवेदनशील भएकाले आधिकारिक निकायबाट सार्वजनिक गरिएका विवरणलाई मात्रै आधार बनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।