सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सामुदायिक रेडियो अभियान र प्रसारण क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै योगदान पुर्याएका सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान गरिएको छ।
एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) ले अध्यक्ष गिरीलाई प्रसारण क्षेत्रको विकास, सामुदायिक रेडियोको प्रवर्द्धन तथा रेडियोमार्फत समुदायलाई सूचना र अभिव्यक्तिको अवसरसँग जोड्न पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान दिएको हो।
काठमाडौँमा जारी एआईबीडीको २४औँ साधारण सभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालाका क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना र एआईबीडीका महासचिव फिलोमिना प्रागसमले गिरीलाई अवार्ड हस्तान्तरण गरेका हुन ।
गिरी २०५८ सालदेखि रेडियो पत्रकारितामा सक्रिय छन्। उनले दाङस्थित रेडियो तुलसीपुरमा स्टेशन म्यानेजरका रूपमा काम गर्दै सामुदायिक रेडियो अभियानमा आफ्नो सक्रियता अघि बढाएका हुन्। दुई दशकभन्दा लामो समयदेखि प्रसारण क्षेत्रमा क्रियाशील उनी सामुदायिक रेडियोको संस्थागत विकास र अभियान विस्तारमा समेत जोडिँदै आएका छन्।
हाल उनी देशभरका ३८० भन्दा बढी सामुदायिक रेडियोको छाता संस्था अकोराब नेपालको अध्यक्षका रूपमा दोस्रो कार्यकालमा छन्। अकोराबको १८औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्।