भोटेकोशी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या ९५ पुग्यो

बुधबार, भदौ १०, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। बाढीपछि विभिन्न जिल्ला हुँदै बगेका शव फेला पर्ने क्रम जारी रहँदा मृतकको संख्या बढेको हो।

नेपाल प्रहरीका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीपूर्वलगायतका जिल्लाबाट शव फेला परेका छन्। फेला परेका केही शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बाढीबाट घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई उद्धार गरी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र सैनिक छाउनी अस्पताल, रसुवा अस्पताल, त्रिशूली अस्पताल, नर्भिक अस्पताल र ग्रीनसिटी अस्पतालमा उपचारका लागि पठाइएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा खटिएका २८ जना प्रहरीसमेत सम्पर्कविहीन रहेका छन्। प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५ तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कविहीन छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन तथा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्