रसुवा बाढी : ‘प्रभावित नागरिक एक्लै छैनन्, सरकार साथमा छ’– प्रधानमन्त्री बालेन शाह

बुधबार, भदौ १०, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीका कारण हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

उनले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले बताएका छन्।

घाइते नागरिकको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्ट्याइएको छ। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत जुनसुकै बेला घाइतेको उपचार गर्न तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्।

त्यस्तै, प्रभावित क्षेत्रमै मेडिकल टोली खटाएर घाइतेको उद्धार तथा प्राथमिक उपचार भइरहेको उनले जानकारी दिएका छन्। राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ।

नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्। आपतकालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय भइरहेको उनले बताए।
प्रधानमन्त्री शाहले बाढीमा हराइरहेका नागरिकको खोजीलाई अझ तीव्र पारिने बताएका छन्। साथै घाइतेहरूको पूर्ण विवरण तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनको काम जारी रहेको र रातभर पनि उद्धार कार्य सञ्चालन हुने बताएका छन्।

बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्।

यी क्षेत्रमा प्रभावित परिवारसम्म तत्काल खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था पुर्‍याइने प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको योजना रहेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै भनेका छन्, “यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ।”
उनले प्रभावित नागरिकको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

विपद्को समयमा सबै एकजुट हुनुपर्ने भन्दै प्रधानमन्त्री शाहले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नसमेत आग्रह गरेका छन्।

“हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ,” प्रधानमन्त्री शाहले भनेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्