स्व. सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार प्रेस युनियनका पूर्वअध्यक्ष शाहलाई

शनिबार, भदौ ६, २०८३

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको १३औँ जिल्ला अधिवेशनका अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम आज नेपालगन्जमा आयोजना गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नाममा स्थापना गरिएको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजंग शाहलाई प्रदान गरिएको छ।

त्यस्तै, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ताको नाममा स्थापना गरिएको राष्ट्रिय पत्रकारिता पुरस्कार तथा सम्मान नेपाल पत्रकार महासंघका पूर्वसभापति हरिहर विरहीलाई प्रदान गरिएको छ।

उक्त पुरस्कार तथा सम्मान कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल र नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीले संयुक्त रूपमा प्रदान गरेका थिए। कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेले स्वर्गीय जगन्नाथ गौडेल–नवीन गिरी स्मृति पुरस्कार, प्रेस युनियन क्रियाशीलता पुरस्कार टेकेन्द्र बस्याल, प्रेस युनियन उदियमान पत्रकारिता पुरस्कार लिला चौधरी तथा शतक रक्तदाता पुरस्कार पवन यादवलाई प्रदान गरेको छ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकार तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्