नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक

बिहीबार, भदौ ४, २०८३

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले उद्योगी–व्यवसायीको हितलाई केन्द्रमा राख्दै विभिन्न प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । संयुक्त प्यानलले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने, पर्यटन प्रवद्र्धन गर्ने तथा महोत्सव, मेला र औद्योगिक प्रदर्शनीमार्फत स्थानीय उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने जनाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग सहजीकरण, सामूहिक बीमा कार्यक्रमको निरन्तरता, व्यवसायीमैत्री नीति तथा कानुन निर्माणका लागि पहल, सामाजिक सेवा तथा व्यवसायी लक्षित तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो ।

व्यवसायीलाई नियमित कामबाट विश्रामका लागि महिनामा एक दिन बजार बन्द गर्ने व्यवस्था मिलाउने, व्यवसायी सहायता कक्ष तथा परामर्श केन्द्र स्थापना गर्ने र संघको कार्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना पनि प्यानलले अघि सारेको छ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियार, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, पूर्व अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरी, संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओली, संघका पूर्व महासचिव एवं प्रजातान्त्रिक उद्योग व्यवसायी संघका नेता विष्णु लामिछाने, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट, होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्ले लगायत विभिन्न पदका उम्मेदवार तथा उद्योगी–व्यवसायीहरूको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओलीले उद्योगी–व्यवसायीका समस्या र मुद्दालाई केन्द्रविन्दुमा राखेर आफूहरू निर्वाचनमा अघि बढेको बताए । उनले सार्वजनिक गरिएका प्रतिबद्धता पूरा गर्न आफू नेतृत्वको टिमले प्रभावकारी पहल र समन्वय गर्ने दाबी गरे ।

ओलीले संघलाई व्यवसायीको साझा संस्था बनाउँदै नीति निर्माणदेखि व्यवसाय सञ्चालनसम्म देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर संवाद र सहकार्य गर्ने बताए । उद्योग–व्यवसायको वातावरण सुधार गर्दै नेपालगन्जको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्