सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभर हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। यस अवसरमा घर तथा कार्यालयको मूल ढोकामा नागको तस्बिर टाँसेर नागदेवताको पूजा गर्ने धार्मिक परम्परा छ।
नाग पञ्चमीका दिन बिहानै स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको मूल ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने चलन छ। नागको तस्बिरमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्ने गरिन्छ।
धार्मिक मान्यताअनुसार नागको पूजा गरेमा वर्षभरि सर्प, बिच्छीलगायत विषालु जीवको भयबाट जोगिन सकिने तथा अग्नि, मेघ र चट्याङको जोखिमबाट समेत सुरक्षा मिल्ने विश्वास छ। शास्त्रमा नाग पञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने विधान रहेको उल्लेख छ। कतिपय स्थानमा शेषनागलगायत अन्य नागको समेत पूजा गर्ने परम्परा छ।
नाग पञ्चमीका अवसरमा नागको तस्बिर टाँस्दा नाग स्तोत्र पाठ गर्ने चलनसमेत रहेको छ। स्तोत्रमा भनिएकोछ—‘अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ॥’ नाग पञ्चमीलाई नागदेवताको सम्मान तथा प्रकृति र जीवजन्तुप्रतिको संरक्षण भावनासँग जोडिएको पर्वका रूपमा समेत लिइन्छ।