सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
जाजरकोट । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजीकार्य जारी रहेको छ।
शनिबार साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी स्थानीय ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगञ्ज रिफर गरिएका कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीका क्रममा फेला परेको छ। उनीहरूसहित मृत्यु हुनेको संख्या तीन पुगेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हाल भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। पहिरोपछि घरबाट निस्किएका हरिस सम्पर्कविहीन भएका रहेका छन् ।
पहिरोमा परी ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन्। घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
पहिरोका कारण स्थानीय आठ वटा घरमा समेत ठूलो क्षति पुगेको छ। उद्धार टोलीले बेपत्ताको खोजी तथा क्षतिको विवरण संकलन गर्ने काम जारी राखेको छ।