सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा, खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी

बिहीबार, साउन २८, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा बुझाउनुअघि मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा रोस्ट्रमबाटै पद छाड्ने घोषणा गरेका थिए। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

बजेटको विषयमा नेपाली कांग्रेस र एमालेबीच विवाद बढेपछि प्रदेश सरकार संकटमा परेको थियो। असार ३१ गते मुख्यमन्त्री शाहले एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले समर्थन फिर्ता लिएको थियो। त्यसयता प्रदेश सरकार अल्पमतमा रहँदै आएको थियो।

राजनीतिक विवादका कारण चालु आर्थिक वर्षको प्रदेश बजेटसमेत पारित हुन सकेको छैन। अहिले सुदूरपश्चिममा बजेटविहीनताको अवस्था रहेको छ।

मुख्यमन्त्री शाहको राजीनामासँगै अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। केन्द्रमा भएको राजनीतिक सहमतिअनुसार नेकपा र एमालेको समर्थनमा नेकपाका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ।

प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि भट्टले एमालेको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्ने तयारी छ। नयाँ सरकार गठनपछि प्रदेशको बजेटसम्बन्धी अन्योल हटाउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १९:०२
प्रतिक्रिया दिनुहोस्