Dashain Banner
Dashain Banner

सिंगो बाजुरा जिल्ला बाढीपहिरोको उच्च जोखिममा

बिहीबार, साउन २८, २०८३

बाजुरा । बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पूरै जिल्ला नै विपद्को उच्च जोखिममा परेको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको 'विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ,२०८३' अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको उल्लेख छ । 

बडीमालिकामा १३ गाउँ, बुढीगङ्गामा १२, त्रिवेणीमा १६, बुढीनन्दामा २०, गौमुलमा ३५, खप्तड छेडेदहमा १०, जगन्नाथमा चार, स्वामीकार्तिक खापरमा १० र हिमालीमा चार वटा गाउँ पहिरोको चपेटामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिनुभयो । 
 
जिल्ला विपद् प्रतिकार्य योजनाले बाढी पहिरो जस्ता विपद्को उच्च जोखिममा रहेका मध्ये करिब एक सय १५ गाउँ बस्तीहरु तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने जनाएको छ । 

उक्त बस्ती स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा बर्षाको समयमा यहाँको जनजीवन प्रभावित बनेको छ ।  

बुढीगङ्गा नदीले बडीमालिका, बुढीगङ्गा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका सयौँ परिवारको खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको स्थानीय दीपक बडुवालले जानकारी दिए । 

जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । 

बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बुढीगङ्गा नदीले  खेतीयोग्य जमिन बगरमा परिणत गराएको बताए । 

विपद् प्रतिकार्य योजना २०८३ को तथ्यङ्कअनुसार जिल्लाभर २०७७ साल यता बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परी ६२ जनाको मृत्यु भएको छ, भने झन्डै एक हजार ७ सय २८ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरो, भूकम्प, आगलागीजस्ता विपद्हरुले जुनसुकै बेला पनि ठूलो धनजनको क्षति पुर्याउन सक्ने बताए । रासस

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्