प्यूठानका विभिन्न स्थानका खोला किनामा ५ वटा शव भेटिए

बिहीबार, साउन २८, २०८३

प्यूठान । प्यूठानमा बिहीबार विभिन्न स्थानबाट पाँच जनाको शव फेला परेको छ। जिल्लाको माण्डपी गाउँपालिका–५ अर्थौसस्थित खोला किनारमा बिहीबार बिहान १० बजेपछि थप एक पुरुषको शव भेटिएसँगै जिल्लामा फेला परेका शवको संख्या पाँच पुगेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार विभिन्न स्थानमा फेला परेका शवबारे अनुसन्धान भइरहेको छ। शवको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसअघि स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा चार जनाको शव भेटिएको थियो। स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२-१३ वर्ष उमेरका बालकको शव फेला परेको छ। बालकको पहिचान खुलेको छैन।

त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरमा माडी खोलाको किनारबाट एक पुरुषको शव भेटिएको छ। प्रहरीका अनुसार उक्त शवको कम्मरभन्दा माथिको भाग मात्रै फेला परेको थियो।

स्वर्गद्वारी–४ गोठीबाङ क्षेत्रमा एक महिलाको शव भेटिएको छ। स्वर्गद्वारी–५ सरोजामा लुङ्ग्री खोलाको किनारमा बिहान करिब साढे ९ बजे अर्की महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। उक्त शवको टाउको र बायाँ खुट्टा नरहेको अवस्थामा भेटिएको थियो।

स्थानीयबाट सूचना प्राप्त भएपछि भिङ्ग्री, लामाचौर र बिजुवारबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको नेतृत्वमा भिङ्ग्रीबाट सात जना, प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको नेतृत्वमा लामाचौरबाट चार जना र प्रहरी निरीक्षक महेश्वरी विष्टको नेतृत्वमा बिजुवारबाट १० जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सबै शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। घटनाको प्रकृति, शवको अवस्था तथा मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्